शिक्षण जीवनका अनुभवहरु (१५ )

शिक्षण जीवनका अनुभवहरु ( १५ ) 
२०७१ चैत १७
प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन 
 
विद्यालयमा प्रतिभावान ( Talanted ) विद्यार्थीको पहिचान सानै कक्षादेखि गर्नु पर्दछ । विशेष परिस्थितिमा बाहेक सकभर त्यस्ता छात्रछात्राहरुलाई अन्यत्र विद्यालयमा स्थानान्तरण हुनबाट रोक्नु पर्ने हुन्छ । उनीहरुको सिकाइ उपलब्धि र प्रगतिको आवधिक मूल्याँकन गरिरहनु पर्दछ । यिनीहरुनै बोर्ड परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुंने बलियो संभावना हुन्छ । यदि निजहरुका मातापिताको आर्थिक स्थिति कमजोर रहेछ भने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनु आवश्यक हुन्छ । यसले गर्दा निजको विचमानै पढाइ छुट्न पाउँदैन ।

प्रायः नजिकैको विद्यालयले त्यस्ता प्रतिभालाई प्रलोभनमा पारेर आफ्नो विद्यालयमा भर्ना गर्न पनि सक्छ । यसबाट चनाखो हुनु जरुरी छ ।फ्रि भर्ना गरी दिने, नि:शुल्क आवासीय सुविधा ,गोल्ड मेडल दिइन्छ, उच्च शिक्षा नि:शुल्क पढ्न पाउने व्यवस्था छ जस्ता लोलीपाप देखाइ विद्यार्थी पलायन गराइन्छ । यस मामिलामा प्रायः सामुदायिक विद्यालयहरु बेखबर रहन्छन् ।

प्रतिभा पहिचान भएपछि त्यसलाई जगेर्ना गर्नु विद्यालयको दायित्व हुन्छ । गोल्ड मेडल र उच्च शिक्षा पढ्न छात्रवृत्ति दिइने प्रबन्ध मिलाउनु पर्दछ ।