शिक्षण जीवनका अनुभवहरु (७३)
२०७२ जेष्ठ १५ गते शुक्रवार
गणतन्त्र दिवस आज : न्याय निसाफ खोज्न रामशाहकै चौतारी धाउनु पर्ने भएकोछ ।
ठीक दस वर्ष अघि नेपाल गणतन्त्र घोषित भयो । नयाँ,नौलो शब्द थियो नेपालीहरुकोनिमित्त । म शिक्षक किन नरमाउनु ? यस्को अर्थ र महत्व बुझाएँ बिद्यार्थीहरुलाई । अंग्रेजीमा बुझाएँ । नेपालीमा बुझाएँ । घोक्न लगाएँ ।अब परिवर्तन छिटो छिटो हुन्छ । विकास छिटो हुन्छ । युद्धका घाउहरु पुरिने छन् । नेपालीहरु रैतीबाट नागरिक बन्ने छन् । राज्यले सबैलाई न्याय गर्नेछ ।”हाम्रा” मान्छेले नभै “राम्रा” मान्छेले मौका पाउने छन् भन्ने आशा जाग्यो । कानूनको शासन हुंनेछ ।सीमान्तकृतहरुको उत्थान हुनेछ । गरीबी उन्मूलन हुनेछ । युवा स्वदेश छाडी बाहिरिने छैनन् । युवाले देशमा नै मनग्गे रोजगारी पाउने छन् ।युवा शक्ति निर्णायक हुनेछन् ।नयाँ संविधानले नागरिक हक हितको प्रत्याभूति दिनेछ । मात्र यी नै अरेक्षा थिए ।
तर नेतातन्त्र हाबी रह्यो देशमा ।एउटा संविधान सभा विफल भयो । दोस्रो के होला भन्ने पीर छ, नेपाली मतदातालाई ।न्याय निसाफ खोज्न रामशाहकै चौतारी धाउनु पर्ने भएकोछ ।युवाशक्ति निर्यात बढेकोछ । नेताहरु चिल्ला-चिल्ला कुरा गरी चिल्लै रोटी हाम्म गरिरहेकाछन् ।कुराको सगरमाथा बनाइ रहेका छन् ।जनता चाहिं ” हात्ती आयो, हात्ती आयो, फुस्सा ” मैं चित्त बुझाइ रहेका छन् । अब के के हुने हो ? राम जाने !