(८४/८५) विवेकपूर्ण निर्णयले पनि विद्यार्थीको भविष्य निर्माण गर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( ८४ /८५ )

२०७२ जेष्ठ २७ / २८ गते बुधवार / विहिवार

परीक्षामा अंकले मात्र निर्णायक भूमिका नखेली परिस्थितिजन्य र विवेकपूर्ण निर्णयले पनि विद्यार्थीको भविष्य निर्माण गर्दछ ।

अभिभावक  १:- सर,मिस । मेरी छोरी थमन कुमारी थापाको रिजल्ट कस्तो छ ? लु सर , उसलाई पास गराइ दिनु प-रो । बिहे छ,उसको पुसमा । यसपाली आठ कक्षामा जान्छे भन्या छौं ।             

प्र. अ:- ऊ, वहाँ मिस संग सोध्नुस । वहाँ कक्षाध्यापक हुनु हुन्छ ।

मिस:- कमजोर छिन्। ४ विषय लाग्या छ ।

अभिभावक १:- लु, मार्यो नि अब । विषय लाग्नै भएन । १८ की भई ।नत्र बिहे त रोकिन्छ,सर,मिस ।

प्र.अ :- लौ अब जानुस् । हामी मिटिंमा छल गर्छौं ।

निज अभिभावक गए लगत्तै स्टाफमा छलफल भयो । निज छात्रा विज्ञान, पूर्व व्यावसायिक , सामाजिक र स्वास्थ्य शारीरिक शिक्षामा अनुत्तीर्ण थिईन् । मिटिंगकै क्रममा निज छात्रा की आमा आई पुगिन् ।

अभिभावक २:- नमस्ते सर, मिसहरु । बुढालाई पठा थिएं ।  थमनको बारेमा कुरा गर्न ।पास हुन्छ कि हुंदैन यसपाली ? जसरी नि पास अर्नु परो ,सर । पुसाँ विहे छ । आठ कक्षामा जान्छे भन्या छौं ।

मिस :- खै चार विषयमा फेल छिन् ।खै  कसरी पास हुन्छिन् ?

अभिभावक २:-छोरी मुन्छेको कुरा हो, मिस । एउटै छोरी हुंन् यिनी ।फेल भई भने विहे के होला खै ? आठ कक्षादेखि त जवाइंले हंगकंगमै पढाउने रे । बिन्ती छ, पास गराइ दिनुस् ।

२०३८ सालतिरको समस्या हो, यो । म जनज्योती मा.वि. डिंगरनगर, रूपन्देहीमा प्र.अ. थिएं ।कमै आमाबाबुले छोरी स्कूल पढन पठाउँथे । उमेर छिप्पिएर स्कूल भर्ना गर्दथे । थमनको केस पनि यस्तै थियो । १८ वर्षमा सात कक्षा पढ्दै ।

हामीले अर्को दिन थमनसंग पनि कुरा बुझ्ने निधो ग-यौं ।टिफिन टाइममा  पियनलाई “संगै लिएर आऊ” भनी  पठायौं ।

थमनले केटो राम्रो र विदेशमा जागीर खाने हुंदा बाआममले कुरा छिनेको बताइन् । आफूले सात कक्षा पास गर्छु पनि भनेकी रहिछिन् । कक्षाध्यापक मिसले भन्नु भयो, “यो त तरूनी पो देखिन्छे , हुरू हुरु बढीछे ।” 

थमनको झैं अन्य कसैको विहेको समस्या भए नभएको बुझ्यौं । थिएन पनि। कक्षा सातका विद्यार्थीहरुको पास-फेल विषयको विश्लेषण गर्यौं ।मुख्य मानिने विषयहरु -अंग्रेजी, नेपाली र गणितमा अधिकाँश विद्यार्थी उत्तीर्ण थिए । थमन पनि यसै अन्तर्गत परिन् । कुल ३० नम्बर ग्रेस दिइ बाँड्दा थमनलाई १० नम्बर पुगेन । कक्षाध्यापक मिसले “थमनको विहे हुनु पर्ने कुरा छ , यसर्थ यसलाई तरूनीको १० नम्बर थपौं”, भन्नु भयो । सबै हाँस्यौं ।

२०४१ सालमा थमन दम्पति छोरा सहित स्कूलमा आए । थमनले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेकी श्रीमानले बताए । हामीलाई चकलेट बाँडे ।

परीक्षामा अंकले मात्र निर्णायक भूमिका नखेली परिस्थितिजन्य र विवेकपूर्ण निर्णयले पनि विद्यार्थीको भविष्य निर्माण गर्दछ ।