शिक्षण जीवनका अनुभवहरु (१७ )

शिक्षण जीवनका अनुभवहरु ( १७ )
२०७१ चैत १९ विहिबार 

भाँडा माझ्ने र कमजोर विद्यार्थीलाई पढाउने / सिकाउने काम

नं. १६ मा कमजोर विद्यार्थीलाई कसरी सुधार्ने भन्नेबारे विचार राखें । अाज हाम्रो व्यवहारिक जीवनमा भाँडा माझ्ने कामसाई कमजोर विद्यार्थीलाई राम्रो बनाउने कामसंग जोड्न चाहन्छु ।

गृहस्थिले भाँडा माझ्ने काम दैनिक गर्नु पर्दछ । कुनै बेला खाना डढ्यो वा चिल्लो धेरै प-यो भने के के गरेर सफा गर्छ ?
# धेरै बेरसम्म पानीमा भिजाएर 
# बेस्सरी बल लगाएर 
# प्रिल, सर्फ राखी झुसले रगडेर
# चम्मच वा कडा वस्तुले घोटेर

भाँडा निश्चय पनि सफा हुन्छ ।तर जिद्दी दाग छुटाउन धैर्यतापूर्वक एक पछि अर्को उपायको प्रयोग गर्दै जानु पर्छ । यस्तै कमजोर विद्यार्थीलाई पढाउन / सिकाउन शिक्षकले एक विधि सफल नभए अर्को विधिको प्रयोग / अनुसन्धान गर्दै लानु पर्दछ । 

कमजोरलाई विशेष निगरानी गरी सुधार गर्न निम्न उपायहरु उपयुक्त हुन सक्छन् ।

# त्यस विद्यार्थीलाई पहिलो वा दोस्रो बेन्चमा तेज विद्यार्थीसंगै बसाल्ने । उसलाई नजानेको कुराहरु सिकाइ दिन अह्याउने ।
# उसलाई अन्यको दाँजोमा कमजोर भएको पाठबारे अलिक थप गृहकार्य दिने ।
# कक्षामा गृहकार्य जाँच्दा उसको सबभन्दा पहिले जाँच्ने । यसो गर्दा उसले नियमित गृहकार्य गर्ने बानी बसाल्छ ।
#  प्रश्न सोध्दा उसैसंग पहिले सोध्ने । यसो गर्दा उसमा चनाखो भएर सुन्ने बानीको विकास हुन्छ ।
#  निज सीमान्तकृत वर्गको भएमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने ।
# निजलाई शिक्षकले अतिरिक्त समय दिएर पढाउने / सिकाउने ।
# निजको अभिभावकसंग साप्ताहिक / पाक्षिक अन्तरक्रिया गर्ने ।