(१५३) समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन ।

शिक्षण जीवनका अनुभवहरु (१५३ )

२०७२ भाद्र ९ गते बुधवार

समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन ।

बहुप्रतिक्षित संविधानको मस्यौदा विधयक संविधान सभामा छलफल जारी छ । कैलालीको टीकापुरमा भएको अमानवीय हिंसात्मक बिउ तराईको पूर्व र पश्चिम तर्फ फैलंदैछ ।शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गर्दा पनि तोडिने प्रयास भईरहेको छ । कतै गोली चलेको छ । नेपाली सेनामाथि जनताको भरोसा छ । अवाँक्षित गतिविधि नियन्त्रण गरी देशको अखण्डता अक्षुण्य राख्ने दायित्व सेनामा हुन्छ, अन्तत्वगत्वा ।महाभूकम्पमा नेपाली सेनाले विपदमा परेका नेपालीको उद्वार गरेको ताजा नै छ ।नेपालीले सेनाको  सम्मान स्वरुप सलाम गरेको थियो ।

नेतागणले  आम नेपाली जनताको आत्माको आवाजलाई उच्चतम दरमा  संविधानमा समावेश गर्नु पर्दछ । आत्मसंतुष्टि र आ-आफ्ना भोट बैंककोलागि सिमाँकन प्रभावित गर्नु कदापि हुंदैन । विवादित विषयलाई जनमत संग्रहमा लैजानु पर्दछ ।कसैको प्रलोभनमा नपरी नेपाली मात्रको दीर्घकालीन हितकोलागि संविधान बनाउन बल लगाउनुस् । होस्ते भन्नुस्, जनता हैंसे भन्छन् । विगतमा वा अनजानमा लोभीपापी मनलाई शान्त पार्न केही योगदान भएको भए प्रायश्चित गर्न आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जानुस् । आशुतोष भगवानले क्षमा र सदबुध्दि प्रदान  गर्नु हुंने नै छ । समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन । हजारौं हजार जनताको वलिदान भई सकेकोछ , अब कसैले वलि चढ्न नपरोस् ।